रूपेश राई rupeshrai100@gmail.com
सार
नेपाली साहित्यको विभिन्न विधाहरूमध्ये कविता विधा सबैभन्दा
जेठो विधा मानिन्छ। छोटो समयमा मनको भावना व्यक्त गर्न सक्ने हुनाले मानिसहरूले
कविता विधालाई ज्यादा रूचाएका पाइन्छन्। अरू विधा भन्दा कविताले आफ्नै स्वरूप र
संरचनामा मौलाएको र फस्टाएको देखिन्छ। यसो हुँदा यसले आफ्नै मूल्य र महत्व कायम
गरेको पाइन्छ।
यस शोध पत्रभित्र नेपाली साहित्यको श्री कृष्णाश्रयी भक्ति
काव्यको परिचय दिएर कालविभाजन गरी प्राथमिक काललाई दुई भागमा विभाजन गरिएको छ। वीर
धाराको सूक्ष्म चर्चा गरेर भक्तिधाराको कृष्णभक्तिधाराका भाषाशैली एवं छन्दशैलीको
विवेचना गर्नु यस शोध पत्रको मुख्य उद्देश्य रहेको छ।
१. कविताको
परिचय
अनवेषकहरूले आजसम्मको अनवेषणद्वारा पत्तो लगाएअनुसार
साहित्यको सबैभन्दा प्राचीन विधा कविता नै हो भनिएको पाइन्छ। जुनै पनि साहित्यको
इतिहास पल्टाउँदै जाँदा साहित्यको थालनी कविता विधाबाट नै भएको प्रष्ट हुँदछ। यसै
प्रकारले नेपाली साहित्यमा पनि विभिन्न विधाहरूभन्दा कविता विधाको थालनी पहिले भएको
हुनाले नेपाली साहित्यको इतिहासको लामो यात्रामा कविता विधालाई पहिलो कोसेढुङ्गो
मानिएको पाइन्छ।
साहित्यको एउटा प्राचीन विधा मानिने कविताका बारेमा पूर्व र
पश्चिम दुवैतिर प्रशस्त चर्चा परिचर्चा भएको पाइन्छ। ‘पश्चिमी साहित्यशास्त्रमा
कवितालाई Poetry’का साथै Poem पनि भनिन्छ। ल्याटिनमा Poeticus/ Poema, ग्रिकमा Poietikos/Poiema भनिने शब्दको व्युत्पति Poet शब्दबाट
भएको हो।’१ Poet शब्दले ‘कवि’ अर्थात् कविताको रचना गर्ने ‘व्यक्ति’ भन्ने अर्थ दिँदछ। Poet बाट निर्मित Poetry शब्दले कविद्वारा सिर्जित पद्यात्मक रचना वा कवि कर्म भन्ने
अर्थ बोध गराउँदछ।
पूर्वीय साहित्यमा कवितालाई काव्यको समानार्थीका रूपमा
लिएको पाइन्छ। यस शब्दको व्युत्पति “कवि शब्दमा त (तल्) र आ (टाप्) अर्थात् कवि + ता बाट भएको हो।”२ ‘कवि’ले रचनाकारलाई तथा ‘ता’ले कविको रचनालाई बुझाउँदछ। यस व्युत्पत्ति अनुसार कविताको तात्पर्य
कविद्वारा सिर्जित रचना विशेष वा कविको कर्म भन्ने हुँदछ।
उक्त प्रकार कविताको सूक्ष्म परिचय दिएपछि भन्न सकिन्छ कि ‘कविता कवि मनको अभिव्यक्ति हो।’ अझ यस कुरालाई स्पष्ट पार्न अथवा कवितालाई चिनाउने क्रममा संस्कृत
साहित्यका मनीषीहरूमध्ये कसैले भनेका छन्- ‘कुनै पनि दैवी नियम वा कानुनी नियन्त्रणबाट मुक्त, आनन्दमय
सरस, स्वच्छन्द भावात्मक अभिव्यक्ति कविता हो।’३
२.कविताको काल
विभाजन
कविता विधाबाट साहित्यको थालनी भएको प्रमाणित भए तापनि यसको
काल विभाजन गर्ने क्रममा धेरै मत मतान्तर रहेका पाइन्छन्। नेपाली साहित्यमा फेला
परेको सबै भन्दा पहिलो कविता श्री ५ पृथ्वीनारायण शाहका समकालीन कवि ‘सुबानन्ददास’को ‘पृथ्वीनारायण’ शीर्षक भएको कविता हो।
यस कविताको रचना काल १८३०-३१ मानिएको पाइन्छ। यसैको आधार लिई कविताको काल विभाजन
निम्न अनुसार गर्न सकिन्छ-
१ खगेन्द्रप्रसाद लुइटेल, कविता सिद्धान्त र नेपाली
कविताको इतिहास, ने. रा. प्र. प्र., काठमाडौं; वि. सं-२०६०,पृ-२.
२.१.प्राथमिक
काल (१८०१-१९४०)
‘कविता चाहिँ परम्परा प्राप्त नभएर लिखित र
लिपिबद्ध हुन्छ।’४ यो कथ्य कतिसम्म युक्तिसंगत छ भन्ने कुरो नेपाली साहित्यको पाना
पल्टाउँदै जाँदा सबै भन्दा पहिला फेला पारेका ‘सुबानन्द दास’-को ‘पृथ्वीनारायण’ शीर्षक
कविताले पूर्ण प्रमाण दिँदछ। यो कवितामा कविले श्री ५ पृथ्वीनारायण शाहको वीर
वन्दना गरेका छन्। अनि यसै कालमा पछि देखिने कविहरूले वीर वन्दनाबाट टाढा रहेर
भक्ति प्रदान कविता रचना गरेको पाइन्छ। यसप्रकार प्राथमिक कालमा कसै कविले वीर स्तुति गरे भने कसै कविले ईश्वर स्तुति
गर्दै कविताको रचना गर्ने हुनाले यस काललाई पनि ‘वीर धारा’ र भक्ति धारा गरी दुई भागमा उपविभाजन गरेका छन्-
२.१.१.वीरधारा काल (१८०११८७१)
आधुनिक नेपालको एकिकरण र राज्यबिस्तारको अवधिलाई नेपाली
कवितामा वीरधारा मानिन्छ। यस धाराको समयावधि नेपाल एकिकरण अभियानको प्रारम्भदेखि
सुगौली सन्धि (१८७२) पूर्वसम्मलाई मानिएको पाइन्छ। ‘यो समय युद्ध र राज्य विस्तारको अवधि भएकोले वीरतालाई मुख्य भाव बनाइ यस
चरणमा वीरभावका कविताहरू लेखिएको पाइन्छ।’५
यस समयावधिका कविहरूले राजा, मन्त्रि आदिको वीरता प्रति
प्रशंसा गर्दै कविताको रचना गरेको पाइन्छ। यसर्थ वीरहरूको स्तुति गर्नु यस धाराका
कविहरूको मुख्य विशेषता रहेको पाइन्छ। यस
धाराका कविहरू क्रमशः सुवानन्द दास- ‘पृथ्वीनारायण’(१८३०१८३१), उदयानन्द अर्याल- ‘पुरानु बातको अर्जी’(१८४३१८५०),‘पृथ्वीन्द्रोदय’(१८७० तिर), ‘बेताल
पचीसि’(१८७२), ‘कुल वर्णन कविता’(१८८७), शक्तिबल्लभ अर्याल- ‘तनहुँ भकुण्डो’(१८३९ तिर), सुन्दरानन्द बाँढा- ‘बहादुर शाह वर्णनम्’, ‘त्रिरत्न सौन्दर्यगाथा’, ‘अध्यात्म रामायण’, राधाबल्लभ अर्ज्याल- ‘साँढ्याको कवित’, रामभद्र पाध्याय रेग्मी-
‘प्रशस्तिरत्नम्’(१८३६),
‘लक्ष्मिधर्मसंबाद’(१८५१), गुमानी
पन्त- ‘धन्य गोसाली राजा’(१८६७-७३),
यदुनाथ पोख्रेल- ‘स्तुति पद्य-१,२,३’
प्रभृति आदि हुन्।
श्री ५ पृथ्वीनारायण शाहका समकालीन कवि सुवानन्द दासले
आफ्ना रचनामा पृथ्वीनारायण शाहकै वीरता, विजय र काशी यात्राको वर्णन गरेर वीर
भक्तिधाराको परम्परा बसालेको पाइन्छ। उनका समकालीन कविहरूले पनि यही परम्परालाई तिव्र
रूपमा अग्रसर गराइ ‘वीर भोग्या
बसुन्धरा’६ भन्ने
संस्कृत कविको उक्तिलाई चरितार्थ पारेको पाइन्छ।
२.१.२. भक्तिधारा (१८७२-१९४०)
अङ्ग्रेजहरूको हम्लाले
तगारो लगाएपछि नेपाली मानसिकता वीरस्तुतिबाट टाढिएर ईश्वरीय स्तुतितर्फ
उन्मुख भएको पाइन्छ। कविहरूको चेतना जाग्छ र वीरस्तुति मात्र होइन ईश्वरप्रति पनि
आस्थावान हुनुपर्छ भन्ने उनीहरूलाई लागेको पाइन्छ। यसैले आस्था र भरोसाका केन्द्र
ईश्वरलाई मानी भक्तितर्फ ढल्किएको पाइन्छ। यस धारामा पनि ईश्वरको विभिन्न प्रकारले
वर्णन गरेका हुनाले यस धारालाई तीन उपधारामा विभाजन गरेको पाइन्छ-
कृष्णभक्ति धारा
यस धाराका कविहरूले कृष्णका साकार रूपको वर्णन गरेका पाइन्छन्।
कृष्णलाई आस्थाका केन्द्रबिन्दु बनाएर कविताको रचना गरेको पाइन्छ। यसरी कृष्णलाई
केन्द्र बनाएर कविता रच्ने कविहरू क्रमशः ईन्दिरस-‘गोपिका स्तुति’, वसन्त शर्मा-‘श्री
कृष्ण चरित्र’, विद्यारण्य केशरी-‘द्रैपदी
स्तुति’, यदुनाथ पोख्रेल-‘कृष्ण चरित्र’, वीरशाली पन्त-‘श्री कृष्ण चरित्र’, पतञ्जली गजुर्याल-‘बालगोपालवाणी’ र हीनव्याकरणी विद्यापति-‘गीतगोविन्द’ आदि प्रभृति हुन्।
यस शोध पत्रको मुख्य उद्देश्य श्रीकृष्णाश्रयी भक्ति
काव्यको भाषाशैली र छन्दशैलीको विवेचना गर्नु रहेकोले यहाँ केवल कृष्णभक्तिधाराको
चर्चा गरिएको छ।
४ दयाराम श्रेष्ठ र
मोहनराज शर्मा, ‘नेपाली साहित्यको संक्षिप्त इतिहास’, साझा
प्रकाशन, काठमाडौं; वि. सं-२०६३,पृ-२२.
पृ-९.
३. श्री
कृष्णाश्रयी भक्ति काव्यको भाषाशैली एवं छन्दशैली
३.१.भाषाशैली
भाषा कवि भावको ढुकुटी हो, शैली कविको शीप हो अथवा काम
गराइको ढाँचा हो। भाषा र शैलीमाझ अन्योनयाश्रित सम्बन्ध पाइन्छ। “भाषा अभिव्यक्तिको माध्यम हो भने शैली भाषाका माध्यमबाट
कस्तो तरीकाले गर्छ भन्ने अर्थ स्पष्टिन्छ।”७ यसैको आधारमा भाषाशैलीका दृष्टिले श्री कृष्णाश्रयी
भक्तिकाव्यका कविहरूले कस्ता भाषाशैलीमा मनका भाव व्यक्त गरेका छन् भन्ने तथ्यलाई
निम्नानुसार हेर्न सकिन्छ-
भाषाशैलीका दृष्टिले कृष्णाश्रयी भक्तिकाव्यको अध्ययन गर्दा
हद्भन्दा ज्यादा संस्कृत तत्सम शब्दको प्रयोग गरेको पाइन्छ। यसर्थ, संस्कृत तत्सम
शब्दको प्रयोगले भाषा क्लिष्ट बन्न पुगेको पाइन्छ। ती तत्सम शब्दहरूलाई विकृत रूप
दिएर प्रयोग गरेका पाइन्छन्। जस्तै- फणी, महीप, तिमरी, बदन, ब्रम्हा, नम्रित,
तडित, पिरति, कराम्दै, हामरो, वृन्डला, कंगाल, जसदा, कीर्ण प्रभृति शब्दहरूलाई जथाभावी प्रयोग गरेका पाइन्छन्।
यसका अतिरिक्त तत्कालीन कविताहरूमा ब्रज भाषाको प्रयोग पनि यथेष्ट
पाइन्छ। यस अवधि अरबी, फारसीका साथै भोजपूरी र मैथिली शब्दहरूको प्रयोग पनि पाइन्छन्।
यसप्रकार प्राथमिक कालका उत्तरार्धमा आइपुग्दा पनि अरू भाषाका प्रयोग नेपाली
कविहरूमा पारम्परिक रूपमा देखिन्छन्। नभन्दै यस अवधिका कतिपय कविहरूले मौलिकता
झल्काउने प्रयासमा भाषाको त्यति ख्याल राखेको पाइन्न। यसो हुँदा भाषाको प्रभाव
यथेष्ट रहेको पाइन्छ। कतिपय कवितामा भने हिन्दी व्याकरणको प्रभाव स्पष्ट रहेको पाइन्छ।
जस्तै- वाक्य पदावलीहरूमा प्रभाव यसप्रकार छन्-
व्रज बेस-बन्यो तिम्री जन्मले।
लक्ष्मि छन् जहाँ तिम्री प्रीतिले।।१।। [गोपिका स्तुति]
यसरी निरन्तर हिन्दी
भाषाको प्रयोगले कुनै पद्यमा एक चरण कुनैमा दुई चरण, कुनैमा पूरा श्लोक नै हिन्दीको
जस्तो पाइन्छ-
“आइ नाथ शरणागत तेरी
हुंगी मैं जनम जन्मकी चेरी।।१।।
हाँसिका नयनले तिर मारी।
यसप्रकार हिन्दीका प्रभाव परेका कविहरूमा कतै-कतै मौलिकता
दिने प्रयासका साथ नेपाली ठेट शब्दको प्रयोगप्रति सचेत्ता रहेको देखिन्छ। यस्ता
सतप्रयासले कतिपय कविहरूले नेपाली भाव व्यक्त गर्न ठेट नेपाली शब्दको प्रयोग
यसप्रकार गरेका छ्न-“पँधेरो,
कराँसो, सकस, चीयो, पाखुरी, चक्ली, उदेक, दुहाइ, डोकाका, भगवान, गाग्री, कम्मर,
सुदी, बुद्धी ”९ आदि। यी शब्दहरूलाई ठेट नेपाली शब्दका उदाहरण मान्न
सकिन्छ। यहाँसम्म आइपुग्दा पहिले हिन्दी भाषाको प्रयोग केही ज्यादा भएको पाए तापनि
ठेट नेपाली शब्दहरूको प्रयोगले हिन्दी शब्दको प्रयोगलाई न्यून पार्ने काम गरेको
देखिन्छ।
कतिपय कविहरूले हलन्त र अजन्तको प्रयोग बाहूल रूपमा गरेका पाइन्छन्।
जस्तै- एक्, औतार्, नीधार्, गोकुल्, बालक्, आकाश् आदि। तर यसको प्रयोग
कवितामा छन्द मिलाउनका निम्ति गरिएको हो भन्न सकिन्छ। कवितामा ह्रस्व-दीर्घको नियम
त्यती पालन गरिएको पाइन्न- पुतना(पूतना), दहि(दही), वि,(विख्) प्रभृति
शब्दहरूमा जथाभावी प्रयोग गरेका पाइन्छन्।
कवितामा शब्दहरू पनि तेरिज गरेर लेखेका पाइन्छन्।
उदाहरणार्थ तलका शब्दहरूलाई लिन सकिन्छ-
तहाँ >त्यहाँ,
यहाँ >याँ/ह्याँ,
थिएँ >थ्या/थें,
थियो>थ्यो,
अहिले >ऐले प्रभृति।
यस किसिमका प्रयोगले गर्दा यस धाराका भाषाशैली त्यति मिठो पाइन्न।
यति हुँदा-हुँदै पनि वाक्यमा आलाङ्कारिक दृष्टिले यमक, उपमा र अनुप्रासको प्रयोग
बाहुल्य पाइन्छ। वीरकालीन कविहरूमा रहेको परम्परा तुकान्त वा अन्त्यानुप्रासको
प्रयोग भक्तिकालका कविहरूमा पनि स्पष्ट रूपमा रहेका पाइन्छन्। वाक्यमा
अन्त्यानुप्रासी अलङ्कार योजनाले भाषामा केही मात्रामा कोमलता, मनोहरिता, सरसता,
रहेको पाइन्छ-
“भानू कीर्ण प्रकट भयो पृथिविमा ऊठिन् यशोदा अनि।
दिव्यै दृष्टि गरी बहुत खुशी भइन् हेरिन् मुखैमा पनि।।
देखिन् श्रीहरिको ललाट मणिको मुकुट् जड्याको तहाँ।
हाँसा झट्ट मुखराविन्द हरिको चुम्वन् गरीन् पो तहाँ।।१०।।” [पुराना
कवि र काव्य]
उक्त प्रकार कृष्णाश्रयी भक्ति काव्यको भाषाशैलीको चर्चा
गरिसकेपछि निष्कर्षमा भन्नु पर्दा यस समयावधिका भाषाशैली त्यति परिष्कृत र परिमार्जित
पाइन्न।
३.२. छन्दशैली
‘संस्कृतममा छद्/छन्द धातुबाट ‘धञ्’ प्रत्यय लागेर
व्युत्पन्न भएको ‘छन्द’ शब्दको अर्थ बाँध्नु, आवृत गर्नु, रक्षित गर्नु, प्रसन्न
गर्नु भन्ने हुन्छ।’१० यसरी
छन्दलाई अर्थ्याएपछि के भन्न सकिन्छ भने छन्दले कवितालाई बाँधेर राख्दछ। सीमित
नियमभित्र आबद्ध गर्दछ। छन्दले काव्यत्मक अनुभूतिलाई तीव्र र सशक्त पार्न सहयोग
पुऱ्याउँदछ। यसले कविताको भाव र तथ्यलाई नियमबद्ध गरेको पाइन्छ।
निम्नप्रकारले कृष्णाश्रयी भक्तिकाव्यको छन्दशैलीमाथि
विस्तारपूर्वक चर्चा गर्न सकिन्छ। यस समयावधिका कविहरूले काव्यलाई नियमबद्ध गर्न र
लयात्मक, श्रुतिमधुर एवं साङ्गीतिक तुल्याउन छन्द क्रमशः स्वागता, बसन्ततिलका,
शार्दूलविक्रिडित, स्रगधरा, मालिनी, शिखरिणी र भुजङ्गप्रयात प्रभृतिका प्रयोग गरेका पाइन्छन्। यस समयका
कविहरूको अध्ययन गर्दा कोही कविले आफ्नो कविताको श्रीगणेश एउटा छन्दमा गरेको पाइन्छ
भने अन्त्यमा अर्कै छन्दको प्रयोग गरेका पाइन्छन्। यस्तै कति कविले एउटै छन्दमा
कविता लेखेका पाइन्छन्। छन्द योजनाका दृष्टिले हेर्दा कविहरूले शब्दको विचार नगरी
छन्दको प्रयोग मात्र गरेका पाइन्छन्। छन्दोबद्ध कविता बनाउनका लागि कृष्णाश्रीय
भक्तिकाव्यका कविहरूले शब्दलाई यथ्येष्ट विकृत रूप दिएका पाइन्छन्। जस्तै- स्मेत,
व्रह्मा, येती, कंगाल, वृण्डाला प्रभृति शब्दहरूलाई उदाहरण स्वरूप लिनसकिन्छ।
छन्द योजनामा शब्दको विकृत रूप आए तापनि
काव्य लयात्मक बन्न पुगेका पाइन्छन्। एकाध ठाउँमा भने कविहरूले छन्द योजनाका लागि शब्दका
प्रयोग कम्ति गरेका पाइन्छन्। उदाहरणका लागि निम्न हरफहरू हेर्न सकिन्छ-
“लक्ष्मी छन् जहाँ तिम्री प्रीतिले”
तथा
“श्री हरीदिन्या तिम्री नेत्रले।” [पुराना
कवि र काव्य]
यसप्रकारले छन्दको नियम पूरा गर्नका लागि शब्दलाई विकृत रूप
दिएर शब्दको यथेष्ट प्रयोग गरेका छन्। यति हुँदा-हुँदै पनि कवितामा छन्दको रमणीयता
वा मिठास रहन आएको पाइन्छ। छन्दले कवितालाई आफ्नो नियमभित्र केही हद्सम्म बाँधेर
राख्दछ। कवितामा छन्दको प्रयोग गर्दा नियम पूरा गरेको हुनु पर्दछ। तर यस समयावधिका
कविहरूका कवितालाई हेर्दा उनीहरूलाई छन्दको राम्रो ज्ञान नभए जस्तो भान हुन्छ।
श्रीकृष्णाश्रयी भक्तिकाव्यको अध्ययन चिन्तन र मनन्
गर्दा यस समयका कवितामा ह्रस्व-दीर्घको विकृत रूप दिएर कविहरूले नगर्ने त्रुटि
गरेका पाइन्छन्। कतिपय विद्वानको भनाइ यस्तो पनि पाइन्छ कि
यस समयका कविहरू सिकारू थिए यसैले छन्द परियोजनामा जथाभावी
छन्दको प्रयोग गरेका पाइन्छन्। यस्ता गर्ने हुँदा छन्दभङ्ग भएको पाइन्छसाथै सफल
रूपमा छन्दको निर्वाह पनि नभएको भान हुन्छ। जस्तै-
“लक्ष्मिका पति! साथ हातमा।।५।।
कमल झैं असल हेर्न धौ बदन्।।६।।
श्री सपहाउन्या सुन्न बेस् हुन्या।
भजन गाउन्या पुन्य धेर दिन्या।।९।।
खेल्नु हुन्छ बेस् सम्झिराक्नु।।१०।।
भनि त हामरो पग्लिजान्छ मन।।११।।”[पुराना कवि र रविता]
उक्त पंक्तिहरू इन्दिरसको-‘गोपिका स्तुति’बाट लिएको हो। कविले यसको रचना गर्दा
१-१८ सम्म स्वागता छन्दमा रचना गरेको पाइन्छ। स्वागता छन्दमा प्रत्येक पाउ ११-११
वर्ण हुन्छन् तर यहाँ कविले कोही हरफमा १० वर्ण गरेका छन् भने कोही हरफमा १२ वर्णसम्म
पनि लेखेका पाइन्छन्। यस प्रकार छन्दको नियमलाई हेर्दा यससम्मका कविहरू छन्दको
कुशल ज्ञाता नभएको नै देखिन्छ। अतः छन्दको नियमलाई हेर्दा यस धाराका कविहरूले
छन्दलाई होसियारीपूर्ण प्रयोग नगरेको र छन्दप्रति त्यति ज्ञान नभएको बुझिन आउँछ।
४. निष्कर्ष
श्री कृष्णाश्रयी नेपाली भक्तिकाव्यको भाषाशैली एवं छन्दशैलीको
सीमित रूपमा अध्ययन गर्दा भाषाशैली त्यति परिष्कृत र परिमार्जित देखिन्न साथै
शास्त्रीय छन्दमा नियमअनुसार छन्दशैलीको पनि राम्रो निर्वाह भएको पाइन्न।
त्यस समयमा नेपाली भाषाको व्याकरण पर्याप्त नभएकोले तत्कालीन
कविहरूमा हिन्दी र अरू भाषाको प्रभाव पर्नु स्वभाविकै हो। यसरी व्याकरणको अभावमा
वर्तनी प्रयोग ठीक नहुनु, शब्दहरू अदलबदल हुनु युक्तिसंगत देखिन्छ। यस किसिमका
अभावहरू देखिए तापनि नेपाली ठेट शब्दको प्रयोग गरेर भाषामा शुद्धता ल्याउने जमर्को
कसेका छन्। भाषामा उदासिनता रहे तापनि अलङ्कारका दृष्टिले अन्त्यानुप्रासको प्रयोग
गरेर मार्मिक्ता न्यून पारेका छन्। यस समयका कविहरूले छन्द मिलाउन शब्दको विकृत
रूप दिएका छन्, यति मात्र नभएर ह्रस्व-दीर्घको नियम पालन पनि गरेका छैनन्। छन्द
मिलाउनको बलले गर्दा नै हलन्तको प्रयोग ज्यादा गरेका छन्। यसप्रकार प्राथमिककालीन
कविता र आधुनिक कवितालाई दजाउँदा आजका कवितामा लयबद्ध भए तापनि छन्दोबद्ध कविता
जस्तो रसास्वदन हुन्न। आजको समय अथवा आधुनिक कालमा धेरजसो गध्य कविता लेखिने
हुनाले छन्दको प्रयोग विलुप्त हुँदै गएको पाइन्छ। जे जसो भए तापनि त्यस समयका
भाषाशैली र छन्दशैलीमा त्रुटि आउनु युक्तिसंगत नै देखिन्छ।
सन्दर्भ ग्रन्थ
१.
केशवप्रसाद
उपाध्याय, ‘प्राथमिककालीन कवि र काव्यप्रवृत्ति’, साझा
प्रकाशन, काठमाडौं;वि.सं-२०६०
२.
खगेन्द्रप्रसाद
लुइटेल, ‘कविता
सिद्धान्त र कविताको इतिहास’, ने. रा. प्र. प्र., काठमाडौं; वि. सं-२०६०.
३.
चुडामणि
बन्धु, ‘नेपाली साहित्यको इतिहास’, ने. रा.
प्र. प्र. कमलादी ,काठमाडौं; वि. सं- २०६०.
४.
दयाराम
श्रेष्ठ र मोहनराज शर्मा, ‘नेपाली साहित्यको संक्षिप्त इतिहास’, साझा
प्रकाशन, काठमाडौं; वि. सं-२०६३.
५.
बाबुराम
आचार्य, ‘पुराना कवि र कविता’,काठमाडौं; साझा प्रकाशन, वि. सं-२०६०.
६.
भानुभक्त
पोख्रेल, ‘सिद्धान्त र साहित्य’, काठमाडौं; साझा प्रकाशन, वि. सं-२०५९.
No comments:
Post a Comment